मंसिर पहिलो साता धुन्चे बजारबाट सबेरै हिँड्ने योजना बनाए पनि धुन्चेको चिसोले बिहानको ७ बजायो । घाम झुल्केसँगै हामीले उकालो यात्रा सुरु गरेका थियौँ । वरिपरि डाँडा, छेउकुनामा विभिन्न बुट्यान तथा झ्याङ र तिनै बीचबाट बनेका गोरेटामा उकालो लाग्दै देउराली पुगेर केहीबेर विश्राम लियौँ । त्यस दिनको गन्तव्य चोलाङपाटीलाई मान्दै लाङटाङ राष्ट्रिय निकुञ्जभित्र हामी एकटकले अगाडि बढिरह्यौँ ।

हामी जति उकालो चढ्दै जान्थ्यौँ, बाटामा देखिने चुत्रोको बोटले आफ्नो हुलिया फेर्दै जान्थे । जति माथि पुग्यो, उति नै फरक–फरक चुत्रोका झ्याङ र पात बढी चुच्चो र चिल्लो हुँदै जान्थे । हुन पनि नेपालमा पाइने २१ प्रजातिका चुत्रोमध्ये लाङटाङ राष्ट्रिय निकुञ्जमा मात्र नौ प्रजातिका पाइने रहेछन् । त्यसमध्ये पनि धुन्चेदेखि गोसाइँकुण्डसम्म पुग्दा मात्र ६ किसिमका चुत्रो देखिए । छोटो हिँडाइमा कुनै पनि प्रजातिका यति धेरै विविधता बिरलै देख्न पाइन्छ ।
चन्दनबारीदेखि चोलाङपाटी पुग्ने तेर्सो बाटोमा निकै बेर हामी बरालियौँ । झोला र क्यामेरा फुत्त भुइँमा फाली झाडीभित्र पसेर पिसाब फेर्दै थिएँ, पिसाब आधा पनि नसकी टक्कै रोकियो । म त आत्तिएँ । हुन त कारण खुसीकै थियो । मेराअगाडि रूखको हाँगामा एउटा दुर्लभ रेड पान्डा (हाब्रे) नाचिरहेको थियो । हत्तपत्त क्यामेरा भएतिर आएको त सहयात्री साथी दीपक सुन्दासले आफ्नो मोबाइलबाट त्यही पान्डाको फोटो खिच्दै रहेछन् । त्यो दुर्लभ क्षणलाई क्यामरामा कैद गर्न म चुकेकामा अहिलेसम्म थकथकी मानिरहेको छु । तर, त्यस ट्रेलमा खुसी हुनका लागि त्यति मात्र कारण भने पक्कै थिएन । साँझपखको अस्ताउँदो घामको किरणले अगाडिको लाङटाङ हिमाल धपक्कै बलेको थियो । जति क्यामरा घुमाए पनि ती बाक्लै लहरै उभिएका रूखले छेकेर हैरान पार्ने । डाँडामा चढेँ, उफ्रिएँ, कुदेँ । उकालोमा त्यसै पनि थाकेकाे ज्यान लखतरान भइयाे तर केही सीप लागेन ।

आफ्नै आँखाले पहिलोपटक रेड पान्डा देख्दा पनि तस्बिर कैद गर्न नपाएको र सुनझैँ टल्केको लाङटाङ हिमालको पूर्ण तस्बिर खिच्न नपाएकामा थकथक मान्दै साँझ ७ बजे चोलाङपाटी पुग्यौँ । अर्को दिन सबेरै चिया खाएर हामी अगाडि बढ्यौँ । त्यस दिनको यात्रा सुरुसँगै हामी ४ हजार ४ सय मिटर उचाइमा रहेको लौरीविनाकाे थाप्लाेमा पुग्याैं, माथि पुगेर तलतिर फर्केर हेर्दा, को अग्लो हुने प्रतिस्पर्धा भएझैँ ताँती लागेर पत्रैपत्र उठेका पहाडको मनोरम दृश्य देखीँदाे रहेछ। प्रकृतिले दृश्य बदलेको क्षणक्षणमा देख्दै झाडी, बुट्यान, नाँगा ढुंगे डाँडा, हिउँले छोपेका पहाडका बीच धीमा गतिमै भए पनि तेस्रो दिनको साँझपख गोसाइँकुण्ड पुग्यौँ ।
गोसाइँकुण्ड पुग्नेबित्तिकै उडेर एक फन्को लगाउन पाए हुन्थ्यो भन्ने मनमा थियो । जीवनमा पहिलोपटक घोडसवारमा पहिलोपटक कुण्ड घुमियो । धीत नमरेपछि कुदेरै अर्को फन्को मारियो । घोंडामा १५ मिनेटजति लाग्ने कुण्ड घुम्न हिँड्दा भने झन्डै ४० मिनेट लाग्यो । पहिले–पहिले गोसाइँकुण्ड दर्शन गर्न जाँदा हिँड्न नसक्नेलाई मानिसले नै बोकेर लैजाने व्यवस्था रहेछ । बोकेर लगेबापत एक जना बराबर १० हजार रुपियाँ लिने गर्दा रहेछन् । अहिलेको पुस्ताले चाहिँ घोडेटो बाटो बनाएर चार वर्षदेखि घोडाको सुविधा ल्याएका रहेछन् । धुन्चेबाट गोसाइँकुण्ड पुग्नेलाई नौ हजार रुपियाँ, देउरालीबाट पाँच हजार रुपियाँ, चन्दनवारीबाट चार हजार रुपियाँ र चोलाङपाटीबाट ३ हजार ५ सय रुपियाँ लाग्दो रहेछ । फर्कंंदा भने अलग्गै पैसा लाग्ने ।
मंसिरको चिसोमा कुण्डमा नुहाउन ठूलै साहस चाहिन्छ । यद्यपि, घन्टौँ एकोहोरो ताल टहल्दै जो कोही रमाउन सक्छ । धुन्चेदेखि गोसाइँकुण्ड छोटो समयमा नै करिब २ हजार ५ सय मिटर उचाइ लिने ट्रेल हो । यहाँबाट लौरीपास हुँदै हेलम्बू गए मेलम्ची पुगिन्छ र लौरीपासबाट सीधै झरे चिसापानी, सुन्दरीजल हुँदै काठमाडौँ पुग्न सकिन्छ । हामी भने त्रिशूली नदीको मुहानबाट हिउँ खेल्दै, हिमाल हेर्दै फर्कियौँ । क्यामरामा कैद गर्न नसकिएको साँझको लाङटाङ हिमालको लुकामारी र दुर्लभ हाब्रे मेरो मानसपटलमा भने सदा रहिरहने छन् ।





प्रकाशित: माघ १, २०७२
I wrote this travel story after back from a trek to Gosaikunda in Langtang National Park and this was originally published in Nepal Magazine
No comments:
Post a Comment