घिनताङ घिनताङ मादलको ताल, बिच बिचमा झ्याली झैं लाग्ने छेउैमा बगेको छहराको लय, चीरबिर चीरबिर चराको आवाज र नाच्यो झिल्के नाच्यो .....ओहोइ ओहोइ... गर्दै संसार नै बिर्सेर नाचीरहेको प्रफुल्ल मान्छको झुप्पा, देख्दा कुनै फिल्मको सेट झैं लाग्ने यो दृश्य पोखराको नयाँ पुल हुँदै घोडेपानी लाग्ने उकालोमा देखिने दृश्य हो।
अन्नपुर्ण पदयात्रामा देखिने बेजोड जंगल, मनमोहक नाङ्गा डाँडा, जिउ नै सिरिङ्ग पार्ने आँखै अगाडिका हिमाल, विश्वकै दुर्लभ वन्यजन्तु र वनस्पती, स्थानिय समुदाय र उनीहरुले अँगाल्दै आएको संस्कृतीको बारे संसार भरी चर्चा छ। म स्वमंले समेत यसबारे धेरै लेख प्रकाशित गरेको छु।
जती पटक हिँडे पनी नअघाउने यो पदमार्गमा हरेक पटक फरक नयाँ केही देखिन्छ भेटिन्छ। एउटा ऋतुमा पुगेको मान्छे पुन त्यही ठाउँमा अर्को ऋतुमा पुग्दा पहिले नै त्यस ठाउँमा आईसकेको महशुस नै गर्न पाउँदैन। फरक फरक याममा अन्नपुर्ण क्षेत्र पुग्दा स्पष्ट बुझिन्छ, किन नेपाल हेर्न एक पटक काफी छैन भनी भनीएको हो भनेर।
हिमाल परै बाट देखिन्छ र यसबारे परैबाट निक्कै अनुमान लगाउन सकिन्छ। समथर तराईबारे धेरै ठाउँमा समानता भेटिन्छ। समथर हुने हुनाले कुनै कुरा लुक्न पाउँदैन, जताबाट हेरे पनि उस्तै नै देखिन्छ। पहाड भने यी हिमाल र तराई भन्दा फरक हुन्छन्। पहाड बुझ्न पहाड नै चढ्नु पर्छ। कुना कन्दरा पुग्नु पर्छ त्यो पनि फरक फरक यामहरुमा। असोज अन्तिम साता एक फरक याममा कास्कीको नयाँपुल देखि घोडेपानी हुँदै तातोपानी सम्म पुग्ने योजना बन्यो र भोलीपल्ट नै पोखराको टिकट किन्यौं।
काठमान्डौं देखि पोखरा सम्मको उडान केहि मिनेटको मात्र हो। त्यो केहि मिनेट यात्रा कती अच्चमको छ भने, न त पुरानो हवाईजहाको सुरक्षा चिन्तामा मन जान्छ न त जहाज भित्रकी सुन्दर एयर होस्टेज र छेउकै सारथीमा आँखा। काठमान्डौंको आकाशबाटै शुरु हुने लाक्पा दोर्जे, लाङटाङ, मनास्लु, लमजुङ र माछापुच्छ्रेको लहरले तानीरहन्छ।
पोखरा बाट नयाँपुल जाँदा ढिकुर पोखरीको भण्डारी बाजेको भोजनालयमा पुगेर हाम्रो गाडि रोकीयो। भण्डारी बाजेकोमा खसीको मन परेको अङ्गको परिकार खान पाईन्छ। त्यहाँको ३ पिलेट बोकाको राजखानी मिठो त थियो नै यात्राभर हाँस्ने बिषय पनि मिल्यो।
नयाँपुलबाट उकाले लागेपछि भुरुन्डी खोलाको तिरैतिर ४ घण्टाको कसिलो हिडाइमा तिखे ढुङ्गा पुगिन्छ। धेरै पर्यटक पहिलो दिन त्यहीँ बस्छन्। हामी भने उल्लेरी पुगेर बस्यौं। बाटोछेउ बनाइएका चिटिक्क परेका चिया पसलहरु हरेकमा पसौं झैं लाग्छ। त्यो प्राकृतिक बगैंचामा पनि प्लास्टिकको फुल टेबलमा देख्दा भने मन खिन्न भयो।
उल्लेरीमा दोश्रो दिन बिउँझिंदा झ्यालबाटै अन्नपुर्ण हिमाल देखिन्छ। अघिल्लो दिनको थकान आधाजति त्यो एक पलमै हराउँछ। उल्लेरीबाट घोडेपानीको बाटोमा यति धेरै विविधता छ कि, नयाँ नयाँ दृश्यले उकालो चढेको पत्तै हुन्न। भरीयाहरु भारीमाथी मादल समेत बाकेर हिडेको, बिच बिचमा मादलको धुन र नेपाली झ्याउरे गितले सुनमा सुगन्ध थपेको भान हुन्छ।
आफ्नै सास फेरेको र पर बज्ने ससाना खहरेको आवाज संगै बेला बेला चराको गित घना जंगलको भित्रको यात्राको थप बिशेषता हो। संसारकै सबैभन्दा ठुलो लाली गुराँसको जंगलमा हिड्दै गरेको गुरासको रुखहरुले यो याममा नबताए पनि सास फेर्दा भित्र पुग्ने गुराँसको वासना अनुभवी पदयात्रीले सहजै अनुभव गर्न सक्छन्।
घोडेपानी पुग्नै लाग्दा म निक्कै उत्साहित भएर बाटो छेउको रुख तिर दगुँरे, मेरा साथीहरु र चिनियाँ पर्यटक पनि आईपुगे। क्यान्सरको औषधिजन्य दुर्लभ लौठ सल्लाको कन्र्टोटा प्रजातीको ठुलो रुख रहेछ। पश्चिम नेपालमा यस प्रजातीको लौठ सल्ला पाईन्छन्। यसबारे केहि बताउन नपाउँदै त्यस रुखमा सेल्फि खिच्ने स्वदेशी विदेशी झुम्मीेहाले। एक चिनियाँ र स्पेनी समुह थप रोचक जानकारी मिल्ने आशमा हाम्रो टोलीलाई पछ्याइरहे। बाटामा देखिने सुनगाभा, पुतली, चरा र जंगली फुलहरु चिन्न पाउँदा उनीहरुमा खुसिको सिमा रहेन। साँझ पर्न लाग्दा, घोडाले पानी खाँदै गरेको चउरले घोडेपानी आईपुगेको संकेत गय्रो तर त्यो मिठो संयोग मात्र थियो।
घोडेपानी पुग्ने कोहिपनि पुनहिल पुगेर सुर्योदय र एकै ठाउँमा उभिएर माछापुच्छ्रे्र, गंगापुर्ण, हिउँचुली, अन्नपुर्ण, निलगीरी, धम्पुस, टुकुचे, धवलागीरी र गुर्जा लगायतका दर्जनौं हिमाल एकै नजरमा हेर्ने अवसर छुटाउँदैनन्। हामी झन् केहि छुटाउनेमा थियनौं। भोलीपल्ट विहान सवेरै ५ बजे नै लामो लावालस्कर पछ्याउँदै हामी पनि उकालो लाग्यौं।
जब जब उज्यालो बढ्दै जान्थ्यो तब ढकमक्क फुलेका भुई फुलले जंगल नै एउटा ठुलो बगैंचा बनाएको भान हुँदै गयो। उज्यालो भयो। पुनहिलको डाँडामा पुगीयो तर हिमालले अझै बादल ओडेर बसिरहेको थियो। सुर्योदयको समय हुनै लागे पनि स्पष्ट देखिने छाँटकाट देखिएन।
कुहिरोले ढाकेको हिमाल र उदाउँदै गरेको घाम तिर त्यो भिड निक्कै आशले हेरीरह्यो। कुहिरो धपाउने काईदा लगाउँदै कोहि चिच्याउँदै त कोहि प्रार्थना गर्दे थिए, म भने सानो छँदा गाईने भाग कुहिरो भाग...गीत गाउँदै थिएँ। तर, केहि उपाए लागेन। घाम एकै पटक निकै माथि पुगेर निस्क्यो। केहि सेकेन्डमै कुहिरोले हिमाल छाड्यो। माहोल एक्कासी उत्साहजनक भयो। सबैका क्यामेरा हिमाल तिर तेर्सियो र पालैपालोको फोटो पोज निक्कै समय सम्म चल्यो।
पुनहिलको बिहानपछि हामी ओरालो लाग्दै तातोपानी झर्ने निधो गर्यौं। घोडेपानीबाट केहि तलसम्म शिखा हुँदै सडक आईपुगेको रहेछ। त्यो सडक भन्दा पनि बढि विनाश लाग्यो। त्यस्ता संवेदनशिल क्षेत्रमा सडक यातायातको विकल्पबारे सोच्न ढिला भईसकको छ।
थकित शरीर घिच्याउँदै शिखा पुगेर दिउसोको खाना खायौं र बेलुकिपख तातोपानी पुग्यौं। लगातार तिन दिनको हिडाईले लखतरान ज्यान तातोपानीमा डुबुल्की लगाउँदा निक्कै आराम मिलेको महशुस भयो। पहरा फोरेर निस्केको तातोपानीका सल्फर, सिलिका र अन्य खनिज पदार्थले हो या पानीको तातोपनले, भोलीपल्ट विहान पुन हिमाल चढ्ने जोशमा बिउझीएँ। चार दिनमै हजार किसिमको अनुभव, थकान, शिथिलता हुँदै संसार हिँडेरै घुम्ने उर्जा बोकेर घर फर्कन सकिने पदमार्ग संसारमा बिरलै भेटिएला।
(I wrote this travel essay after a trip to Annapurna and it was origially published in Setopati)
No comments:
Post a Comment