रेशु बस्याल, कमल मादेन, कुमार पौडेल
केही वर्षयता वनको सुनाखरी उक्काएर घरमा ल्याउने प्रचलन निकै बढेको छ । अझ सामाजिक सञ्जालमा, जंगलबाट अनधिकृत रूपमा लुछेर ल्याइएका तस्बिर गर्वका साथ पोस्ट गर्ने होड नै चलेको छ । यो प्रवृत्तिको निसानामा प्रायः आकर्षक फूल फुल्ने जातका सुनाखरी बढी पर्छन् । अनौठो त के छ भने यस्तो काममा आफूलाई सुनाखरीको माया गर्ने ‘अर्किड लभर्स’ भन्न रुचाउने नै अग्रपंक्तिमा छन् ।यो पुस्ता राम्रो कुरा आफ्नो घर र स्वामित्वमा राख्न निकै हुटहुटीमा भए झैँ देखिन्छ, तर प्रकृतिमा रमाइरहेको वनस्पतिलाई उसको वासस्थानबाट छुटाएर हामी आफ्नो कस्तो ‘प्रकृतिप्रेमी’ साख जोगाउन खोज्दै छौँ, बुझिनसक्नु छ ।
सामाजिक सञ्जालमा सुनाखरी : सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएका तस्बिरहरू हेर्दा सुनाखरी सिकारमा आमसमुदाय मात्र नभई पत्रकार, अध्ययनकर्मी र सरकारी अधिकारीहरूसमेत सामेल देखिन्छन् । चामलको बोरा वा ठूला प्लास्टिकको झोलामा जथाभावी सुनाखरी संकलन गरिएका तस्बिरहरूले कति निर्मम र अवैज्ञानिक ढंगबाट सुनाखरीहरू संकलन भइरहेका छन् भन्ने देखाउँछ । कतिपय ठाउँमा सुनाखरी भएका रूख नै ढालेरसमेत संकलन गरिएका छन् । संकलकले दुर्लभ प्रजातिका वनस्पति संकलन गर्न सफल भएको भनेर गर्वका साथ खुलाउने पनि गरेका छन् । यसरी विभिन्न बहानामा भइरहेको गैरकानुनी सुनाखरी सिकार र यसको प्रभावबारे सोच्न ढिला भइसकेको छ ।
नेपालका सुनाखरीहरू अधिकांश दुर्लभ र रैथाने किसिमका छन् । सीमित क्षेत्रमा न्यून संख्यामा रहेका प्रजाति अनधिकृत संकलनले त्यस्ता प्रजातिको अस्तित्व नै संकटमा आउँछ । जथाभावी संकलन गरिएका सुनाखरी अर्कै ठाउँमा सार्दा सर्ने सम्भावना निकै कम हुन्छ । हिमालय क्षेत्रका लामो समय सुनाखरी अध्ययन अनुसन्धानमा बिताएका डा. भक्तबहादुर रास्कोटी पनि यही औँल्याउँछन् ।
ऐनमा सुनाखरी : नेपालको कानुनले अनधिकृत सुनाखरी संकलनलाई वर्जित गरेको छ । सुनाखरी संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (साइटिस)को अनुसूची (१) र (२) मा पर्छ । नेपालमा अहिलेसम्म सुनाखरीका करिब पाँच सय प्रजाति पहिचान भएका छन् । नेपालको कानुनले अनधिकृत सुनाखरी संकलनलाई वर्जित गरेको छ । सबै संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन र नियमले सम्बन्धित निकाय वन तथा भू–संरक्षण विभागको अनुमतिविना हुने संकटापन्न वनस्पति संकलन, ओसारपसार, व्यापार र प्रयोग दण्डित अपराध मानेको छ । यसको कसुर गर्नेलाई पाँच वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय सजाय हुने प्रावधान छ ।
वन तथा भू–संरक्षण विभागबाट अनुमति नै लिएर सुनाखरी संकलन गर्दासमेत धेरै विषयमा ध्यान दिन जरुरी हुन्छ । सर्वप्रथम, संकलन गरिने प्रजाति दुर्लभ हो वा होइन, पहिचान गरिनुपर्छ । दुर्लभ भए भरसक नमुना संकलन गर्नै हुँदैन । संकलन गर्नैपर्ने भए कतापट्टिको भाग संकलन गर्दा त्यसलाई असर पर्दैन, विचार पु¥याउनुपर्छ । सकेसम्म एउटा मात्र नमुना लिनुपर्छ । कुनै सुनाखरी सम्बन्धित ठाउँको इन्डेमिक अर्थात् रैथाने हुन सक्छ । रैथाने भए त्यसलाई विशेष रूपमा जोहो गर्नुपर्छ ।
सुनाखरीको राजधानी मानिने गण्डकी प्रदेशमा पिनालिया अन्नपुर्नेन्सिस, पिनालिया पोखरेन्सिस, नियोटिआ नेपालेन्सिस, ओडोन्टोचिलस नन्देयी, ओरेओकिस पोर्पिm¥यान्थस वैज्ञानिक नाम पाएका रैथाने सुनाखरी छन् । त्यसैले संकलनकर्ताले कुन प्रजाति दुर्लभ वा रैथाने हो भन्ने हेक्का नराखी जथाभावी संकलन गर्नु गलत हुन्छ । अर्कोतिर, संकलन गरेर सामाजिक सञ्जालमा यस्ता तस्बिर पोस्ट गर्दा आमसमुदायमा सुनाखरी यसरी नै संकलन गर्न हुने रहेछ भन्ने गलत सन्देशसमेत जान्छ ।
वन तथा भू–संरक्षण विभाग काठमाडौंले साइटिसको अनुसूचीमा रहेका सुनाखरीको संकलन अनुमति यसैको साइटिस व्यवस्थापन गर्ने अधिकारीको परामर्शबाट दिने प्रावधान छ । पछिल्लो समयमा सुनाखरी संकलन तथा व्यापार अनुमति कसैलाई पनि नदिएको सो विभागले जनाउँछ । यसको अर्थ, जो जसले गरेका भए पनि हाल भइरहेका सबै सुनाखरी संकलन अवैध र कानुनतः दण्डनीय अपराध हुन् ।
यसरी सोचौँ : हिजोआज सामाजिक सञ्जालमा तस्बिर खिचेर फलानो ठाउँ, फलानो वनको, फलानो पाखाको विवरणसहित जंगली फूललगायतको तस्बिर पोस्ट गर्ने चलन ह्वात्तै बढेको छ । त्यस्ता पोस्टबाट उक्त वनस्पति कहाँनेरको हो भन्ने सजिलै पत्तो लाग्छ । आसपासका सामाजिक सञ्जाल उपयोगकर्ता यस्ता पोस्टको आधारमा उक्त फूल भएको ठाउँमा पुग्न सक्छन् । आमरूपमा ती वनस्पति दुर्लभ वा रैथाने भन्ने जानकारी हुन्न । यसरी त्यस्ता गतिविधिले प्रजातिको अस्तित्वमै असर पुग्छ ।
प्रतिदिन लाखौँको संख्यामा प्रयोगकर्ता बढेसँगै संकटापन्न जैविक विविधता संरक्षणमा सामाजिक सञ्जालको भूमिका के कस्तो हुने भन्नेबारे चर्चा विश्वभर हुन थालेको छ । केही अध्ययन अनुसन्धानले सामाजिक सञ्जालले आमसमुदायमा जनचेतना जगाई संरक्षणका निम्ति सकारात्मक भूमिका पुर्याउँछ भन्ने देखाए तापनि हाम्रो जस्तो देशमा यसको प्रभाव कस्तो हुन्छ, यकिन छैन । तर, सामाजिक सञ्जालमा देखिएको कुरालाई नियाल्दा यसले गैरकानुनी संकलक र कारोबारीलाई समेत सघाउ पुग्ने देखिन्छ ।
नेपालजस्तो मुलुक, जहाँ संरक्षणको केन्द्रमा बाघ, हात्ती, गैँडा, अर्नालगायतका जनावरमा मात्र बढी लागिपर्ने सरकारी निकायसँग सबै वनस्पतिका बारेमा विस्तृत जानकारी नहुन सक्छ । साथै, सबै वनस्पति प्रजातिको संरक्षण योजना पनि बन्न सकेको छैन । यद्यपि, सुनाखरी नेपालको अमूल्य निधि हो, यसको संरक्षणमा सजग हुनु हरेक नागरिकको कर्तव्य हुन्छ । सरकारका सम्बन्धित निकायलाई आवश्यक नीति नियम बनाउन, कानुनको कार्यान्वयन गर्न र अधिकारको दुरुपयोग भएको भए कारबाही गर्न आमनागरिकले खबरदारी गर्न जरुरी छ ।
हामीकहाँ अक्सर सरकारलाई मात्र दोष लगाएर उम्कने प्रवृत्ति छ । हामी नागरिक पनि उत्तिकै जिम्मेवार छौँ । अब अर्कोपटक जंगलमा भएका सुनाखरीे वा अन्य कुनै वनस्पति देख्दा त्यसलाई लुछ्नुअघि र फलानो ठाउँबाट ल्याएँ भनेर गर्व गर्दै सामाजिक सञ्जालमा देखाउनु/सुनाउनुअघि एकपटक यसले सम्बन्धित प्रजातिलाई के कस्तो असर पर्छ, सोचौँ । हाम्रोे लापरवाही र लालसाले कुनै एक वनस्पति÷प्राणी प्रजाति संसारबाट लोप हुन सक्छ ।
(विज्ञानमा आधारित संरक्षण संस्था ग्रिनहुड नेपालमा आबद्ध लेखकत्रय संरक्षणकर्मी हुन्)
No comments:
Post a Comment